Monday, December 1, 2014

नालापानीको दुर्इ सय वर्षपछि

नालापानीको दुर्इ सय वर्षपछि

सविता प्रसाई सापकोटा | २०७१ मङ्शिर १४ आईतवार4211 पटक पढिएको
 1353
 18
 
वीरगाथाको इतिहास बोकेको एक ऐतिहासिक क्षण हो- नालापानी युद्ध। जसका मूल नायक थिए बलभद्र। नेपालीले आफ्नो मातृभूमि रक्षाका लागि देशभक्ति र बहादुरीको कीर्तिमान कायम गरेको तथा वीरताको प्रतिष्ठा कमाएको नालापानी लडाइँमा नेपाली वीर-वीरंगनाले शहादत कमाएको आज दुई सय वर्ष पूरा भइसकेको छ। 
 
३१ अक्टोबरदेखि ३० नोभेम्बर १८१४ सम्म करिब एक महिना चलेको अंग्रेजसँगको युद्ध र यसपछि भएको सुगौली सन्धि नेपाली इतिहासमा भुल्न नसकिने घटना हुन्। 
 
सन् १६०८ मा भारत पसेको इस्ट-इन्डिया कम्पनीले त्यहाँ आफ्ना प्रतिद्वन्द्वी फ्रान्सिसी, डच र पुर्तगाली कम्पनीलाई युद्धद्वारा परास्त गरी क्रमश: भारतको स्थानीय राज्य-रजौटालाई पनि कूटनीतिक बलमा आफ्नो हातमा लिएको थियो। 
 
भारतका शक्तिशाली मानिएका बंगाल, बिहार, उडिसा, हैदराबाद, निजाम, अबध, पेसावर, मराठा, सिन्दे, जाट, बुन्देल, जयपुर जस्ता राज्यले समेत इस्ट-इन्डिया कम्पनी सरकारसामु घुँडा टेकिसकेका थिए। सुन्दर, शान्त, हरियाली, शीतल वातावरण र कला-कौशलको भण्डार नेपालमा अंग्रेजले गिद्धे दृष्टि लगाउनु कुनै नौलो घटना थिएन। 
 
विभिन्न बहानामा नेपालमा आक्रमण गर्ने निहुँ खोजिरहेका अंगे्रजसँग आखिर १ नोभेम्बर १८१४ का दिन औपचारिक युद्ध नै प्रारम्भ भयो। मुख्य पाँच स्थानमा विशेष तयारीका साथ युद्ध छेडेका अंग्रेजसँग नेपाली वीरहरू पनि अन्तिम क्षणसम्म शत्रुलाई आच्छु-आच्छु पार्दै युद्ध गरिरहेका थिए। त्यसमध्येको सबैभन्दा बहादुरीको गाथा र सधैं नेपालीको मानसपटलमा रहिरहेको घटना भने नालापानी युद्ध नै हो। 
 
'फिरंगीहरूले छिट्टै आक्रमण गर्ने संकेत मिलेको भन्दै देहरादुनमा सुरक्षित ठाउँ खोजी किल्ला बनाई आवश्यक बन्दोबस्तसहित तयारी अवस्थामा बस्नू' भन्ने आदेश बूढाकाजी अमरसिंह थापाको आदेशबमोजिम बफादार रणकुशल कप्तान बलभद्र कुँवरले गढवालअन्र्तगत पर्ने देहरादुन बजारबाट साढे दुई कोस उत्तरपूर्वमा रहेको नालापानीको थुम्कामाथिसम्म पारेको ठाउँलाई उपयुक्त ठानी किल्ला बनाए। 
 
किल्लामा चार सय सेना र पिपा, खलासी, लोहार, निशान, सिकर्मी, डकर्मी, वैद्य तथा तिनका जहान, परिवार, छोराछोरी दुई सय गरी लगभग ६ सयजना नालापानीका लडाकु थिए भने अंग्रेजसँग लगभग तीन हजार ६ सय सेना, सिकर्मी, डकर्मी, अर्दली, पिपा, सइस, इन्जिनियर, डाक्टर कूटनीतिज्ञ तथा ढुवानी र सवारीका लागि हात्ती घोडा, पर्याप्त खरखजाना, रसदपानी, तोप, राइफल, पेस्तोल, उपचारका पर्याप्त औषधि आदि थियो। 
 
यस विषयमा इतिहासकार भेन्सीटार्टले पनि नालापानीमा सिपाही, आइमाई र केटाकेटी गरी जम्मा ६ सय नै भएको बताएका छन्। 
 
नालापानी युद्धका प्रत्येक घटनामा स्वाभिमानका उदाहरण देख्न सकिन्छ। अंग्रेजसँगको दोस्रो चरणको युद्धमा जर्नेल रोलो जिलेस्पीको मृत्यु भई पुन: अंग्रेजको हार भएको थियो। दिनभर र रातभर भएको यस युद्धमा केटाकेटीलाई गोली लागी छटपटाउँदा पनि नेपाली वीरंगना ढुंगामुढा वर्षाउँदै जय काली ! जय गोरख ! को नारा लगाउँदै घुँयत्रो हान्न छोडेका थिएनन्। 
 
कोही महिला हातमा खुकुरी लिएर वैरी उक्लदै गरेको पर्खालतर्फ लम्किरहेका हुन्थे। त्यहाँ न त ज्यानको परवाह थियो, न त छोराछोरीको माया ! अंग्रेजहरू दुरविनले किल्लाभित्र हेर्दै गोरखालीको बहादुरी देखेर छक्क पर्थे। त्यस्ता वीर जातिलाई आफ्नो पक्षमा लिन पाए विश्व विजय गर्न सकिने धारणा स्वयं लेफ्टिनेन्ट कर्णेल कार्पेन्टरले व्यक्त गरेका थिए। 
 
विभिन्न प्रलोभनसहितको जनरल जिलेस्पीको चिठ्ठी च्यात्दै दूतलाई 'आधा रातमा चिठीको जवाफ दिने हाम्रो परम्परा छैन। तिम्रो सरदारलाई भनिदेऊ, हामी डराएर भाग्ने छैनौं, युद्धको मैदानमा तिम्रो सरदारलाई भेटेर यसको जवाफ दिनेछौं' भन्ने बलभद्रले दिएको चोटिलो जवाफको प्रसंगले सधैं नेपाली स्वाभिमानको शिर उच्च राखेको छ। 

नालापानी युद्धमा महान् नायकको संस्मरणमा देहरादुन क्षेत्रमा तीनवटा स्मारक निर्माण गरिएको छ। यस ठाउँमा नाभेम्बर ३० का दिन प्रत्येक वर्ष त्यस घटनाको संस्मरण गर्दै देहरादुनवासीले यद्यपि पर्वको रूपमा मनाउने गर्छन्। 
 
घाइते नरबहादुर भन्ने जमदार नरे कार्कीलाई उपचार गरेपछि आफ्नो सेनामा काम गर्न कर्णेल मावीले अनेक प्रलोभन देखायो, तर उनले स्वाभिमानका लागि आफू लडेको र सधैं लडिरहने र नुनको सोझो गर्ने कुरा बताउँदै फेरि नालापानी फर्किएको थियो। यो दृश्यले नेपाली स्वाभिमानितामा अंग्रेज नतमस्तक भएको थियो। 
 
नेपालीतर्फ धेरैको मृत्युका साथै रसदपानी सकिँदै जान थालेकाले थप किल्ला मर्मत तथा अन्य सामग्रीसहित सहयोगको लागि पत्र पठाए। अंग्रेजहरूले छलकपटको नीति अपनाए। किल्ला भत्काए। किल्लाभित्र लास, पानीका घ्याम्पा फुटेर पानी र रगत मिसिएको तालको दुर्गन्ध र दर्दनाक अवस्था थियो। 
 
विस्तारै किल्लाभित्र हाहाकारको स्थिति मच्चियो। वैरीका गोली, बमगोला, बारुद किल्लाभित्र नै आउन थाले। सबैगरी जम्मा ७० जना जति सेना, आइमाई, केटाकेटीलाई साथमा लिएर सेनापतिहरू हातमा खुकुरी नचाउँदै बाहिर निस्किए। अंग्रेजहरू त्यो दृश्य देखेर आश्चर्यचकित परे। 
 
यसबखत फ्रेजर विलियमले गोर्खालीलाई हेपेर 'रसदपानी सके होलान्, खान पाएनन् होला, के गरून्, बाध्य भएर निस्के हाम्रै शरणमा आउलान् नि अब' भनेका थिए। तर हाकाहाकी नेपाली फौज अगाडि बढे। खोलामा गई तीनचार दिनको तिर्खा मेटाए। विस्तारै दुबरा-दुबरी गाउँतर्फ लागे। तब अंग्रेज झस्किए र भने, 'हामीले गल्ती ग:यौं, उनीहरूलाई घेरा हाली पक्रेर युद्धबन्दी बनाउनुपर्थ्यो ।' 
 
नालापानी खलंगा युद्धको चर्चा धेरैले गरेका छन्। कप्तान वेन्सीटार्टले वीर नेपाली सेना र युवतीले बहादुरीका साथ युद्धमा लडेको र देखेको कुरा व्यक्त गरेका छन्। विश्वप्रसिद्ध विज्ञानवेत्ता जगदीशचन्द्र बसु र प्रसिद्ध बंगाली साहित्यकार जलधर सेन रायले लेखेका छन्, 'ब्रिटिसका धेरै तोपको एकसाथ भीषण गोला वर्षाले नालापानी किल्लाको पर्खालमा एकातर्फ भ्वाङ पर्‍यो। 
 
तर त्यतिबेलै त्यस ठाउँमा एक्कासि एउटा अद्भुत दृश्य देखियो। त्यो थियो, पर्खालको भ्वाङ परेको ठाउँमा क्षणभरमै अर्को नयाँ पर्खाल खडा भएको। यो नयाँ पर्खाल ढुंगा-माटोको होइन। नारीहरूको सुकोमल शरीरले खडा भएको थियो। नेपाली वीरंगनाले आफ्ना शरीरले पर्खाल भत्केको भाग तुरुन्त बनाइहाले। 
 
यस्तो दृश्य संसारमै कहिल्यै देखिएको थिएन। रगत मासुको जिउँदो शरीरले कहीँ पनि किल्लाको पर्खाल बनाइएको छैन यिनीहरूको जिउँदो दु:ख खप्न नसक्ने शरीर बज्रजस्तो साह्रो भई लडाइँमा दुस्मनलाई नाश गर्ने हतियार पनि बन्यो।' 
 
यस युद्धमा अंग्रेजतर्फ ३१ अफिसर र सात सय १८ सैनिक मरेका थिए। वास्तवमा नेपाली सेनाले नालापानीमा हार खाएका थिएनन्। रसदपानी र हातहतियारको अभावमा बाध्य भएर निस्किनुपरेको थियो। 
 
अंग्रेजले पटकपटक हार खानुपरेको थियो र उनीहरू त्रसित थिए। मद्दतका लागि पठाएको फौज समयमै आइपुगेको भए नेपाली फौज त्यसरी किल्ला छोड्नुपर्ने स्थिति आउँदैनथ्यो। स्वयं इतिहासविद् आरसी विलियम्सले पनि यस्तै किसिमको अभिव्यक्ति दिएका छन्। 
 
नालापानीस्थित पहाडको टाकुराको खलंगा युद्धस्थलमा दुई वर्षअघि वीर बलभद्र कुँवरको सम्मानमा 'बलभद्र खलंगा युद्ध स्मारक' निर्माण गरिएको छ। यसरी नालापानी युद्धमा महान् नायकको संस्मरणमा देहरादुन क्षेत्रमा तीनवटा स्मारक निर्माण गरिएको छ। यस ठाउँमा नाभेम्बर ३० का दिन प्रत्येक वर्ष त्यस घटनाको संस्मरण गर्दै देहरादुनवासीले यद्यपि पर्वको रूपमा मनाउने गर्छन्। 
- See more at: http://annapurnapost.com/News.aspx/story/3301#sthash.VFPmfZF9.vFLIy6pl.dpuf

No comments:

Post a Comment