सबभन्दा महान् मान्छे
चीनका महानतम दार्शनिक मानिने व्यक्तित्व हुन्– कन्फुसियस । उनी ईसा पूर्व छैटाँँै शताब्दीमा चीनको लु नगरस्थित त्से गाउँमा जन्मेका थिए । एक चोटी राजाले उनलाई सोधे– संसारका सबभन्दा महान् मान्छे को हुन्, कन्फुसियस ? उनले सहजै जवाफ पस्के – हजूर हुनुहुन्छ, महाराज । राजाले पुनः प्रश्न तेस्र्याए– किन होला कन्फुसियस ? उनले जवाफ पस्के– किनभने हजूर सत्यका, ज्ञानका प्यासी । त्यसैले हजुर सबभन्दा महान् मान्छेमा पर्नुहुन्छ ।
टाउको हल्लाउँदै राजाले फेरि सोधे– मभन्दा महान् अरु पनि होलान् नि, कन्फुसियस ? उनले तत्काल जवाफ दिए – हजुरभन्दा महान् मान्छे त मैँ हँु नि, महाराज । किनभने जुन ज्ञानको हजुरमा प्यास छ, त्यो ज्ञान मैले प्राप्त नै गरिसकेको जो छु । अतः हजुरभन्दा महान मैँ हुँ, महाराज । जवाफ सुनेर महाराज एकछिन् रन्थनिए ।
राजाले तुरुन्तै सोध्न भ्याए– त्यसो भए तिमीभन्दा महान् पनि नि त कोही होला नि, कन्फुसियस ?
कन्फुसियसले भनी हाले– किन नहुनु महाराज, मसित आउनुहोस्, मभन्दा महान् मान्छे चिनाइदिन्छु ।
कन्फुसियसले राजालाई एउटा गाउँमा लगे । त्यस गाउँमा एकजना ८० वर्षका बुढो बटुवाका लागि निस्वार्थ भावले कुवा खनीरहेका थिए । त्यसै बुढोलाई औँल्याएर र कन्फुसियसले राजालाई भने– राजन, ज्ञानको प्यासी भएकाले हजुर सबभन्दा महान् मान्छे, ज्ञान जानेको कारण हजुर भन्दा महान् म र महाराज आफ्नो ज्ञानलाई अरुको सेवामा समर्पण गरी कर्म गरेकाले यी बुढा सबभन्दा महान् ब्यक्ति हुन् । राजाले बल्ल चित्त बुझाए ।
आचार–दर्शनका प्रणेता थिए– कन्फुसियस । उनले आचरणसम्बन्धी तीन सय सिद्धान्त र तीन हजार नियमहरु छाडेर जान भ्याए र, ठूला–ठूला राजकीय पदमा रहेर पनि उनले कुनै भ्रष्टाचार गरेनन् । यहाँसम्म कि, उनले आफ्नो लागि गतिलो बाससमेत बनाएनन् । उनको महानतालाई कदर गर्दै कसैले सोधेका थिए– कन्फुसियस हजुरलाई हामीले कसरी सम्झने त ? एक महात्माको रुपमा वा महान् त्यागीको रुपमा ?
कन्फुसियसले आफ्नो प्रत्युत्पन्नमति प्रगोग गर्दै भने– म अध्ययनबाट कहिल्यै सन्तुष्ट नहुने विद्यार्थी हुँ भने अध्यापनबाट कहिल्यै नथाकिने शिक्षक हुँ ।
No comments:
Post a Comment